विगत दुई दशकदेखि प्रत्येक वर्ष निरन्तर प्रदान गर्दै आएको ‘टुबोर्ग इमेज अवार्ड’ को २१औं संस्करण सम्पन्न भएको छ । काठमाडौँको होटेल सोल्टीमा भएको २१औं संस्करणको अवार्डमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेता अभिनेत्रीको उपाधि पाउन सफल भएका छन् । विपिनले चलचित्र 'गोपी'बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् भने स्वस्तिमा ‘बुलबुल’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको उपाधि हात पारिन् । आ-आफ्नो कामले राजधानी बाहिर रहेका दुवैले अवार्ड थाप्न स्टेज उक्लन पाएनन् ।

यसै गरी चलचित्र ‘जात्रै जात्रा’बाट प्रदीप भट्टराईले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भए । ‘इमेज अवार्ड’ मा सर्वोत्कृष्ट फिल्मको अवार्ड समेत प्रदीपको ‘जात्रै जात्रा’ले पाएको छ । साथमा ‘सर्वोत्कृष्ट फिल्म गीत’ तर्फको अवार्ड फिल्म ‘दाल भात तरकारी’ को ‘भिजिट भिसा’ बोलको गीतले पायो भने विविध २२ विधामा अवार्ड वितरण गरिएको थियो ।