शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा रेकर्ड तोड व्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र देर्ने दर्शकको भिड आइतबार पनि मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा उत्तिकै रह्यो । प्राय आइतबारबाट ओरालो झर्ने चलचित्रको व्यापारको रेखा ‘कबड्डी ३'मा उति झरेको देखिएन । वितरक कम्पनी ‘स्टेसन ५’ले दिएको जानकारी अनुसार चलचित्रले आइतबार १ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ । बलियो वर्ड अफ माउथले गर्दा आइतबार पनि चलचित्रले राम्रो व्यापार गर्न सफल भएको हो । पहिलो विकेन्डमै चलचित्रको पोल्टामा ४ करोड ३२ लाख जम्मा भैसकेको छ । चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको थियो ।
साथै प्रदर्शनको दोस्रो दिनमा १.७८ करोडको ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड राख्न सफल भएको थियो । यसरी ‘कबड्डी कबड्डी कबड्डी’ले विकेन्डमै लगानी उठाएर गरेर नाफाको बाटोमा लागेको छ । दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको चलचित्र लामो रेसको घोडा बन्ने निश्चित भैसकेको छ । सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।