नेपाली चलचित्रको स्तरोन्नति भइरहेको कुरा सबैले स्वीकार गर्दै आइरहेका छन् । विगतमा बन्ने उही शैलीका चलचित्रबाट फड्को मारेर चलचित्रमा मौलिक पन र कलात्मक बनाउनुपर्छ अनि मात्र नेपाली चलचित्रको अन्तर्राष्ट्रिय करण हुन सम्भव छ भन्ने यथार्थलाई मनन गर्दै चलचित्र मेकर्सले यो पट्टी ध्यान दिन थालेका छन् । यही बाटोमा हिँड्न सुरु गरेको थियो केही वर्ष पहिले चलचित्र 'छक्का पन्जा' निर्माण टिम । चलचित्रका सिक्वेलहरु बने र तीनलाई दर्शकले अत्यधिक रुचाए । चलचित्र ब्लकबस्टर साबित भयो । यस्तै अर्को चलचित्र हो 'कबड्डी' जसको पछिल्लो सिक्वेल प्रदर्शन भइरहेको छ र यसलाई पनि दर्शकले निकै विश्वास गरेका छन् । चलचित्रको पहिलो भागलाई दर्शकले विश्वास गरेपछि उही नाम र ब्रान्ड समातेर चलचित्र निर्माण गर्दा मेकर्सलाई केही राहत हुन्छ नै । दर्शक पनि निर्धक्क भएर चलचित्र हेर्न हलसम्म पुग्न सक्छन् । यो वर्षका दुई बहुप्रतीक्षित चलचित्र हुन् 'कबड्डी' सिरिजको तेस्रो भाग र 'छक्का पन्जा' मेकर्सको 'छ माया छपक्कै' । जसमध्ये पहिलो गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ भने अर्को असोज २४ देखि प्रदर्शनमा आउँदै छ । 'छ माया छपक्कै'ले केही दिन अघि मात्र ट्रेलर सार्वजनिक गरेको छ । जसलाई दर्शकले अपेक्षा अनुरूपको नभएको प्रतिक्रिया दिएका छन् ।
‘छक्का पन्जा’को टोलीसँग सहकार्य गरी दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीको निर्माणमा बनेको ‘छ माया छपक्कै’को चर्चा यसको निर्माण घोषणा भएदेखि नै भइरहेको थियो । नेपाली चलचित्रको इतिहासमै व्यापारिक रूपले सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा ३’ पछि उही शैलीमा बनेको ‘छ माया छपक्कै’को ट्रेलरदेखि धेरै दर्शक असन्तुष्ट देखिएका छन् । हुन पनि ‘छ माया छपक्कै’मा दर्शकको निकै ठुलो आशा बसेको थियो । ‘वडा नम्बर ६’ फ्लेवरमा देखिएन ट्रेलरमा राजनीति पृष्ठभूमिमा प्रेम बुनिएको छ । चलचित्रका पटकथाकार तथा कलाकार दीपक राज गिरी यस कुरालाई मान्दैनन् । दुई चलचित्रमा बिलकुल फरक पन छ र कुनै पनि हिसाबले कथा बस्तु नमिल्ने उनको भनाइ छ । यसैबिच दीपक राज गिरीले चलचित्रको ट्रेलरका बारेमा सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिनेहरू कतैबाट सञ्चालित रहेको बताएका छन् । आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले संस्कृति रक्षाको पक्षमा वकालत गर्दा केही सञ्चालित तत्त्वहरूको निद्रा बिग्रिएको भन्ने विचार सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘हाम्रो अकल्पनीय लगातारको सफलताले अत्तालिएका यी व्यक्तिहरू सामाजिक सञ्जालहरूमा समूह निर्माण गरेर हामी विरुद्ध विष ओकलिरहेछन् ।’
उनका अनुसार नकारात्मक कमेन्ट गर्नेहारु फेक आइडी मात्र हुन् । उनी थप्छन् नेपाली फिल्म र नेपाली संस्कृतिको पक्षमा आवाज उठाउनु गल्ती नभएको र त्यस्ता प्रायोजित गालिले आफ्नो अभियान रोकिँदैन । चलचित्रको ट्रेलर अनुसार दीपकराज गिरी राजनीतिज्ञको भूमिकामा छन् । उनको प्रेम आफूभन्दा आधा उमेर कम युवती केकी अधिकारीसँग हुन्छ । केकीका पिता पनि राजनीतिज्ञ हुन्छन् । तर, पार्टी फरक । राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावलाई ट्रेलरमा देखाउन खोजिएको छ । ट्रेलरमा कमेडीलाई प्रधानता दिइएको छैन तर हास्य रस पनि छुटेको छैन । शुक्रवार रिलिज भएको ट्रेलरलाई करिब ६ लाखले हेरिसकेका छन् भने माग्ने बुढा (केदार घिमिरे)को उपस्थिति र चरित्र निकै मन पराएका छन् । नेपाली चलचित्रलाई स्वाबलम्बी बनाउन सिकाएका मेकर्सले बनाएको चलचित्रको ट्रेलरलाई लिएर केही नकारात्मक प्रतिक्रिया आए पनि यो टिमको कामलाई प्रशंसा गर्ने दर्शकको कमी भने छैन । दर्शकले असोज २४ निकै व्यग्रताका साथ कुरिरहेको देखिन्छ ।