चलचित्र 'छक्का पन्जा २' हलमा रिलिज भएको लामो समयसम्म पनि इन्टरनेटमा रिलिज नगरिँदा विभिन्न कारण बस हलमा हेर्न जान छुटेका दर्शकले निकै गुनासो गरिरहेका थिए । निर्माता तथा कलाकार दीपकराज गिरीले 'छक्का पन्जा २' सोमबार राति ८:३० बजे युट्युबबाट रिलिज गरिने जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा दीपकराज गिरीले लेखेका छन्, ''छक्का पन्जा २ आज राति ८.३० बजे युटूबमा, छक्का पन्जा ३ पनि चाँडै, ढिलो रिलिजको कारण पाएको माया र गाली दुबैको लागि धन्यवाद'' । बक्स अफिसमा हलचल मच्चाएको यस चलचित्र रिलिज नगरिँदा दर्शक केही हदसम्म रुष्ट भएका थिए भने आफूले चलचित्रको निकै प्रतीक्षा गरेको दर्शकले गुनासो गरिरहेका थिए । अब दर्शकको प्रतीक्षाको घडी सकिने भएको छ ।
विश्व भरमा रहेका नेपाली चलचित्र प्रेमीले यस चलचित्रको स्वाद लिन पाउनेछन् । साथमा छिट्टै नै 'छक्का पन्जा ३' पनि इन्टरनेटमा रिलिज गरिने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र 'छक्का पन्जा'को ब्यानरमा निर्माण भएको चलचित्र ' छ माया छपक्कै' प्रदर्शनको सँघारमा छ ।