साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनको सँघारमा छ । अंकितले यसै चलचित्रबाट डेब्यु गर्दै छन् । असोज १० गतेबाट प्रदर्शनमा आउने ‘रातो टीका निधारमा’ नव नायक अंकितको फिल्मी करीयरको लागी निकै महत्त्वपूर्ण रहेको छ । यति बेला चलचित्रका यी दुई मुख्य कलाकार र टिम प्रचार प्रसारको दौडधुपमा छन् । यसैबिच अंकितले आफू पढेको विद्यालय भ्रमण गरेका छन् । सोमबार काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा चलचित्र युनिटसँग पुगेका अंकितले विद्यार्थीसँग अन्तरक्रिया गरे । स्कुल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा अंकितले आफूले १० कक्षासम्मको अध्ययन गर्दा भोगेका र जानेका कुरा उनले अनुभव बाँडेका थिए । अन्तरक्रियामा उनले ‘हामीले बाबु-आमाको करकापमा यस्तो बन्ने, उस्तो बन्ने भनेर पढ्नु भन्दा पनि आफूलाई जुन विषय र क्षेत्रमा इच्छा जाग्छ, त्यतैतिर ध्यान लगाएर पढ्नु पर्छ । तब मात्र हामी पढाइमा सफलता हासिल गर्न सक्छौँ ।’ भन्दै विद्यार्थीलाई हौसला दिए ।
यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि कार्यक्रममा आफ्ना अनुभव सुनाइन् । होस्टेलमा बिताएका बाल्यकाल सम्झेर केही भावुक भइन । उनले ती दिन सम्झिँदै भनिन्, 'होस्टेल जीवनमा सबैभन्दा बढी फ्यामिली मिस हुन्थ्यो र बाल्यकाल उहाँहरूसँगै वितोस भन्ने चाहना हुन्थ्यो । तर, पनि होस्टेलका साथीहरूलाई हेरेर चित्त बुझाउँथे । उहाँहरूले साथले कहिले-काहीँ परिवार नै बिर्साइदिन्थ्यो ।' रिलिजको लागि केही दिन मात्र बाँकी रहँदा 'रातो टिका निधारमा' टिमले मल्पी स्कुलबाटै कलेज स्कुल यात्रा सुरु गरेको छ । मल्पी स्कुलका सदस्यले 'रातो टिका निधारमा' टिमलाई सफलता र दसैँ-तिहारको पनि शुभकामना दिएका थिए ।
अशोक शर्माले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन्। ए .ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।