चलचित्र ‘नाई नभन्नु ल २’ मा समावेश गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ बाट अनपेक्षित रूपमा चर्चा कमाएका प्रेम परियारले चलचित्र ‘पोइ पर्‍यो काले’को नयाँ गीत रेकर्ड गराएका छन् । सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई निर्देशक विकासराज आचार्य र सङ्गीतकार वसन्त सापकोटाले फिल्मको लागि अवसर दिएका थिए । तर, बिस्तारै स्वरमा परिवर्तन आउन थालेपछि उनले गीत गाउन छाडेका छन् । लामो समयपछि उनले तिहारको अवसर पारेर कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पोइ पर्‍यो काले’को गीत ‘मायाले मलाई बोल’मा स्वर दिएका छन् । परियारले पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय गीतमा आवाज नदिएको र रेकर्ड गराइएको गीतको शब्द सुन्ने बित्तिकै मन परेको बताएका छन् । गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए ।

‘मायाले मलाई बोल’मा रघु परियारको शब्द रहेको छ भने पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री पूजा शर्मालाई फिचर्ड गरिएको छ । कमेडी जनरामा निर्माण भएको 'पोइ पर्‍यो काले'मा आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । चलचित्र शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको हो ।