साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनको सँघारमा छ । अंकितले यसै चलचित्रबाट डेब्यु गर्दै छन् । असोज १० गतेबाट प्रदर्शनमा आउने ‘रातो टीका निधारमा’ नव नायक अंकितको फिल्मी करियरको लागी निकै महत्त्वपूर्ण रहेको छ । यति बेला चलचित्रका यी दुई मुख्य कलाकार र टिम प्रचार प्रसारको दौडधुपमा छन् । यसैबिच मङ्गलवार चलचित्र टिमले त्रिनेत्र फाउन्डेसनका दृष्टि विहीन बालबालिका सँग दसैँको शुभकामना आदानप्रदान तथा उपहार वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।टिमले त्यहाँ दशैँको टिका र जमरा लगाएर खुसिको माहोल छरेको थियो । फेसबुक ग्रुप 'डब्लु आर आर' र 'रातो टिका निधारमा'को सहकार्यमा सायोजना गरिएको कार्यक्रममा १५ जना दृष्टिबिहिनहरुलाई लुगा प्रदान गर्नुका साथै खाना पनि खुवाइएको थियो । कार्यक्रममा चलचित्रका साम्राज्ञी आरएल शाह र अंकित शर्मा लगायत टिम उपस्थित थियो ।
आफ्ना अनुभव सुनाउँदै साम्राज्ञी र अंकितले दृष्टिविहिनलाई हौसला प्रदान गरे ।भावी दिनमा समाज सेवामा आउने योजना रहेको बताउदै साम्राज्ञीले सहि समयको पर्खाइमा रहेको बताइन । ‘सामाजिक कार्यमा लाग्नलाई पहिले त मनैदेखि तयार हुनु पर्दछ । त्यसैले अहिले नै सबै ठाउँमा हात हाल्ने अवस्था छैन । भावी दिनमा अवस्य पनि तन-मन लगाएर सामाजिक कार्यमा हिड्नेछु । सामाखुसीमा रहेको उक्त फाउन्डेसन दृष्टि बिहिनहरुको हितका लागी काम गर्ने संस्था हो । अशोक शर्माले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन्। ए .ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।