बलिउड अभिनेता आयुष्मान खुराना पछिल्ला वर्षहरूमा दर्शकको मन जित्न सफल कलाकार हुन् । उनले हात हालेका चलचित्रले निकै राम्रो र सम्झन योग्य सफलता हात पारेका छन् । यति बेला उनी अभिनीत चलचित्र 'ड्रिम गर्ल'ले निकै राम्रो व्यापार गरिरहेको छ भने दर्शकको तारिफ पनि उसै गरी पाइरहेको छ । आयुष्मानको अभिनय र उनको चलचित्र प्रतिको लगाव र विश्वास पर्दामा हेर्दा दर्शकले समय बितेको पत्तो पाउँदैनन् । प्रदर्शनको दशौँ दिनमा 'ड्रिम गर्ल' सय करोड क्लबमा दर्ता भएको छ । ३० करोडको बजेटमा निर्माण भएको ‘ड्रिम गर्ल’ले १०१ .४० करोड कमाइसकेको छ । दर्शक तथा समीक्षक दुबैबाट प्रशंसा पाएको यस चलचित्रले ठुलो लगानी भन्दा कथा, कलाकारको अभिनय र कलाकारले चलचित्रमा आफूलाई समाहित गर्नुले चलचित्र राम्रो नराम्रो छुट्टिने प्रमाणित गरिदिएको छ ।

सय करोड क्लबमा पुग्ने आयुष्मान अभिनीत यो दोस्रो चलचित्र हो । गत वर्ष रिलिज भएको ‘बधाई हो’ले यो सफलता हासिल गरेको थियो । चलचित्रको कन्टेन्टलाई ध्यान दिन थालेका आयुष्मानले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन । ‘ड्रिम गर्ल’मा आयुष्मानसँगै नुश्रत भरुचा, अन्नु कपूर, मनजोत सिंह, विजय राजको पनि अभिनय रहेको छ भने राज सान्दिल्या निर्देशन गरेका हुन् ।