नबोलेको कुरा पनि कहिलेकाहीँ मनले बुझिदिन्छ । बरु बोलेका कुराहरू त्यसै हराएर जान्छन्, नबोलेको कुरा अमर हुन्छ । नलाएको प्रेम, व्यक्त नगरेका भावनाले जीवनभरि चिमोटिरहन्छन् । यस्तै भाव बोकेको गीत 'नलाएको माया' सार्वजनिक भएको छ । आधुनिक नेपाली गीत सङ्गीतका मूर्धन्य गायक सत्यराज आचार्यको एकल आवाजमा रहेको गीतमा सुविदा गुरागाईंको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको छ । साथमा सङ्गीत संयोजन किरण तुलाधरको रहेको छ । गीतको भिडियोमा लक्ष्मी बर्देवा र सत्यराज आफै फिचर्ड छन् ।
तरकारी व्यापारीको भूमिकामा देखिएका सत्यले लक्ष्मीलाई गरेको प्रेम भन्न नसक्दा उनको अन्तै बिहे हुन्छ तर बिहे पछि उनी खुसी नभएको थाहा पाउँदा सत्यलाई भएको पिडा गीतको भिडियोमा देखाइएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले छायाङ्कन र विकाश धमलाले सम्पादन गरेका हुन् ।