शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा रेकर्ड तोड व्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र हेर्ने दर्शकको भिड घटेको छैन । चलचित्रले पहिलो विकेन्डमै पोल्टामा ४ करोड ३२ लाख जम्मा गरिसकेको छ । यसरी 'कबड्डी कबड्डी कबड्डी’ले पहिलो विकेन्डमै लगानी उठाएर नाफाको बाटोमा लागेको बताइएको छ । यसैबिच प्रदर्शनको छैटौँ दिन बुधवार पनि चलचित्रले उही रफ्तारमा व्यापार गरिरहेको छ । चलचित्रका मुख्य कलाकार हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । यसैबिच राजधानी को बिग मुभिज पुगेका चलचित्रका मुख्य कलाकार उपासना सिंह ठकुरी र बुद्धि तामाङले चलचित्रलाई दर्शकले दिएको मायाले आफूलाई निकै उत्साहित भएको बताएका छन् । नाम र व्यापारिक सफलता दुवै पाएको चलचित्र 'कबड्डी'को सिक्वेलमा मुख्य भूमिका निभाएर दर्शकको मन जित्नु र आफूलाई साबित गर्नु एउटा चुनौती नै हो । जुन काम उपासनाले राम्रोसँग निभाएकी छिन् । चलचित्रमा उनले गरेको अभिनयलाई तारिफ मिलेको छ । यो सफलता उपासनाको लागी अवसर र चुनौती दुवै हो ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले पाएको सफलताले निकै खुसी बनाएको बताएकी छिन् । यसै गरी अर्का अभिनेता बुद्धि तामाङ पनि यो सफलता सानो नभएको बताउँछन् । चलचित्र व्यवसायसँग जोडिएको भए पनि दर्शकको मायाको अगाडी कुनै पनि कुरा ठुलो नभएको र यसले बयान नै गर्न नसक्ने खुसी दिएको उनको भनाइ छ । चलचित्रका निर्माता मणिराम पोखरेलका अनुसार चलचित्र सफल हुन्छ भन्ने लागेको भए पनि यती धेरै सफल होला भन्ने आफूले नसोचेको बताएका छन् । उनका अनुसार चलचित्र प्रदर्शनको सुरुको दुई दिनको व्यापारले नै लगानी सुरक्षित गरिसकेको छ । उनले अभिनेत्री उपासनाको कामको पनि तारिफ गरेका छन् । पहिलो पल्ट सँगै काम गरे पनि उपासना निकै समझदार र काम प्रति लगाव भएको मान्छे र काम गर्दा सहज भएको बताएका छन् । चलचित्रलाई दर्शकले दिएको माया प्रति आभार हुँदै चलचित्रको सफलता बारे उब्जिएको डर खुसीमा परिणत भएको मा टिम नै उत्साहित भएको भनेका छन् ।

दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको चलचित्र लामो रेसको घोडा बन्ने निश्चित भैसकेको छ ।  सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।