पछिल्लो समय चलचित्र 'घर'मा अभिनय गरेकी अभिनेत्री बेनिशा हमाल यति बेला फुर्सदमा छिन् । उनले साइन गरेका चलचित्र फ्लोरमा गैनसकेकाले फुर्सदको समयमा उनी घुमफिर लगायत आफ्ना निकट व्यक्तिसँग समय बिताइरहेकी छिन् । चलचित्र वृत्तमा यति बेला बेनिशा प्रेम सम्बन्धमा रमाइरहेको खबर बाहिरिएको छ । बुझिए अनुसार उनी चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा छिन् । राम्रो चलचित्र मेकिङ गर्ने रौनक चलचित्र क्षेत्रमा राम्रो स्थान बनाएका निर्माता हुन् भने चलचित्र ‘ब्लाइन्ड रक्स’बाट २०७४ सालको उत्कृष्ट नायिकाको पुरस्कार जितेकी बेनिशा पनि आफूलाई प्रमाणित गरिरहेकी छिन् । यी दुईको प्रेम सम्बन्धले नयाँ बाटो खुल्ने अनुमान लगाउन सकिन्छ ।

बेनिशा र रौनक केही महिनादेखि नजिक रहेको बुझिएको छ । अहिलेसम्म प्रेम सम्बन्धलाई लिएर चर्चामा नआएकी बेनिशा र रौनकको सम्बन्धबारे उनीहरू आफैले भने केही खोलेका छैनन् । दुवै एक अर्काको प्रेममा खुसी हुन सके र भविष्यमा जीवनको यात्रा सँगै गर्न सकिने निर्णय गरेमा यो कुरा उनीहरूले छिट्टै स्वीकार गर्ने नै छन् ।