राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा बोकेको चलचित्र ‘छ माया छपक्कै’ को अफिसियल पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । भने केदार घिमिरे र जितु नेपाललाई पनि स्थान दिइएको छ ।
दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलावा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यही असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा दीपाश्री निरौला निर्देशन सल्लाहकारको रूपमा रहेकी छन् ।
केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेका छन् । चलचित्रको कथा निर्देशक लामाले तयार पारेका हुन् । प्रदर्शनको मिति नजिकिँदै जाँदा चलचित्र निर्माण पक्षले एकपछि अर्को प्रचारप्रसार सामाग्री सार्वजनिक गरिरहेको छ । चलचित्रको केही दिन अगाडी मात्र ट्रेलर रिलिज गरिएको थियो ।