मानिसलाई आफूलाई मन पर्ने कलाकारमाथि निकै ठुलो सम्मान र विश्वास हुन्छ । आफूलाई अप्ठेरो पर्दा सान्त्वना दिन आफूले आइडल मान्ने कलाकार आफू अगाडी भए जो कोहीलाई नै निकै साहस आउँछ । तर हामीले सोचे जस्तो कहाँ हुन्छ र ? हामीले मनमा राखेका कलाकार वा अन्य आइडियल पर्सन हुन उनीहरूलाई थाहै हुँदैन र हुने कुरा पनि भएन । केही हप्ता अगाडि वीरगन्जमा एसिड आक्रमणमा परेर कीर्तिपुरमा उपचार गराइरहेकी १४ बर्षिया मुस्कान खातुनलाई यो अवसर मिलेको छ । एसिड आक्रमणको पिडा र चाहर्याउने घाउ, यो पिडा उनका आफन्त र सहयोगीहरूले त हरेक दिन देख्दै आएका छन् र सहानुभूति तथा माया त प्रकट गरिरहेकै छन् । तर त्यति सजिलै निको हुने घाउ र पिडा कहाँ हो र यो । उनको पिडामा मलहम लगाउन र छिट्टै ठिक भएर भारतसम्म पुगेर आफ्ना मन पर्ने हिरोलाई भेट्ने हुटहुटी जन्माइदिएका छन् बलिउड अभिनेता वरुण धवनले । बलिउड नायिका कृति सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् । र उनले यो कुरा वरुणलाई समेत भनेकी थिइन् यो सुनेपछि वरुणले उनलाई भिडियो सन्देश पठाएका हुन् ।

वरुणले भनेका छन्–‘मुस्कान, मलाई तिम्रो बारेमा कृतिले जानकारी गराएकी थिइन् । मैले थाहा पाए अनुसार तिमीलाई अध्ययन गर्न निकै नै मन पर्छ । तिमी ठिक भएपछि म तिमीलाई भेट्नेछु ।’ वरुणले मुस्कानलाई अगाडि भनेका छन्–‘तिमी चाडै नै निको हुँदै छौ, तिमी राम्रो गर्दै छ्यौ धेरै धेरै प्रेम छ ।’ देख्नलाई र सुन्नलाई सामान्य लाग्न सक्छ तर पिडासँग लडिरहेको मान्छेलाई साहस र सान्त्वना अनि प्रेमको स्पर्शले हिम्मत जुटाउन निकै सहयोग गर्छ ।