कोलकाताको स्टेसनमा गीत गाउने रानु मण्डलले आफू आज यो दिनमा हुन्छु भनेर सपना देख्ने हिम्मत पनि जुटाएकी थिइनन् होला । पेटको आगो निभाउन हरेक दिन रेल स्टेसनमा गीत गाउँदै दिन बिताउने उनले सपना सुन्दर सपना देख्न सुखद निद्रा निदाउन पनि कहाँ पाइन् होला र ? तर गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ ले रानु मण्डलको किस्मत रातारात बदल्यो । भारतीय गायन रियालिटी सो सुपरस्टार सिङ्गरबाट चर्चाको उचाइमा पुगेकी रानुले नसोचेको सफलता पाइरहेकी छिन् । उनको सुरिलो आवाज र गायन शैलीको तारिफ नगरी कोही बस्न सक्दैनन् । यति बेला उनको जीवन भोगाइ र यात्रामाथि चलचित्र निर्माण हुन लागेको भारतीय मिडियाहरूले लेखिरहेका छन् । फिल्ममेकर ऋषिकेश मण्डलले उनको जीवनीमा फिल्म बनाउने तयारी थालेका छन् र रानुको बायोपिकका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई अप्रोच गरिएको खुलेको छ ।

एक अन्तर्वार्तामा सुदीप्ताले आफूलाई अफर भएको तर, फिल्मको स्क्रिप्ट आफूले पाउन बाँकी रहेको बताएकी छिन् । स्क्रिप्ट पाएपछि काम गर्ने वा नगर्ने टुङ्गो लाग्ने उनको भनाइ छ । चलचित्रको नाम ‘प्लेटफर्म सिंगर रानु मण्डल’ राखिने भएको छ र चलचित्रमा रानुको रेलवे स्टेसनदेखि बलिउडसम्मको यात्रा देखाइने छ । रानु देशका कयौँ महिलाका लागि एक मिसाल रहेको र रानुको जीवनीमाथि फिल्म बनाउने अहिले सही समय रहेको निर्देशक ऋषिकेशको भनाई छ ।