शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा रेकर्ड तोड व्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र हेर्ने दर्शकको भिड दोस्रो हप्तामा प्रवेश गर्दा पनि घटेको छैन । बलियो वर्ड अफ माउथले गर्दा चलचित्रलाई दर्शकको राम्रो साथ मिलिरहेको हो । यस चलचित्रले सँगै रिलिज भएका हलिउड चलचित्र ‘र्याम्बो: लास्ट ब्लड’ र बलिउडको ‘द जोया फ्याक्टर’लाई समेत पाखा लगाएको छ । दुई करोडमा निर्माण भएको चलचित्रले पहिलो विकेन्डमा नै लगानी सुरक्षित गरेर नाफाको बाटोमा छ । पहिलो विकेन्डमै चलचित्रको पोल्टामा ४ करोड ३२ लाख परेको थियो भने पहिलो हप्तामा ७ .३८  करोड  ग्रस कलेक्सन गर्न सफल भएको छ ।

योसँगै चलचित्रले दोस्रो सातामा पनि राम्रो प्रदर्शन गर्ने छाँट काँट देखाएको छ । दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको चलचित्र लामो रेसको घोडा बन्ने निश्चित भैसकेको छ । सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।