सिङ्गल रिलिजको अवसर पाउनु नेपाली चलचित्रको लागी निकै ठुलो मानिन्छ । दर्शक नबाँडिने कारण पनि सबै चलचित्र निर्माता सिङ्गल रिलिजको अवसरको खोजीमा हुन्छन् तर सबैले त्यस्तो अवसर पाउने कुरै भएन किनकि नेपालमा वर्षमा औसत १०० चलचित्र बन्छन् जसको लागी हप्तामा दुई वा बढी चलचित्र प्रदर्शनमा आउनु पर्ने आकलन गरिन्छ । तर कुनै चलचित्रलाई भने त्यो मौका जुर्ने गर्छ । आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'रातो टिका निधारमा' ले सोलो रिलिजको अवसर पाएको हो । साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र यो वर्षको प्रतीक्षित चलचित्र हो । दसैँको बिदा छोप्दै प्रदर्शनमा ल्याइएको यस चलचित्रलाई अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी'को थ्रेट भने प्रशस्तै छ । दर्शकमा ‘कबड्डी ३’ प्रतिको क्रेज अझै कम भएको छैन । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण हलमा दर्शकको उपस्थिति राम्रो छ । रातो टिका निधारमाले दर्शकलाई आफूतिर तान्न पहिलो दिनबाटै राम्रो वर्ड अफ माउथ कमाउनु पर्ने हुन्छ ।
यस चलचित्रले मल्टिप्लेक्स हलमा उच्च शोज हात पारेको छ चलचित्रलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसल गरी ३४ शोज उपलब्ध गराएको छ । भने, विग मुभिजले ६, एफ क्युबले ५, बिएसआरले ६, सिने डी सेफले ५, क्युज सिनेमाजले ४, र पोखराको मिड टाउन ग्यालरीले ४ शोज बाँडेका छन् । अशोक शर्माले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी र अंकितका साथमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन्। ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।