यस वर्षको दसैँको छेकोमा चलचित्र ‘रातो टिका निधारमा’ ल्याएका सफल निर्देशक अशोक शर्माले २०७७ सालको दसैँ पनि ओगटेका छन् । उनकै निर्देशनमा दशक अगाडि निर्माण भएको ब्लकबस्टर चलचित्र ‘अल्लारे’ को दोस्रो शृङ्खला निर्माण गरी उनले प्रदर्शन गर्ने भएका छन् । अघिल्लो दसैँमा प्रदर्शनमा आएको ‘जय भोले’ भन्दा अगाडि नै उनले यस चलचित्र निर्माण गर्ने चर्चा थियो तर उनले अरू चलचित्रलाई नै प्राथमिकता दिए । अन्ततः आज शुक्रवार बाट प्रदर्शनमा आएको चलचित्र ‘रातो टिका निधारमा’ लाई ‘बिट’ मार्दै गर्दा निर्देशक शर्माले अर्को वर्षको दसैँमा ‘अल्लारे २’ प्रदर्शनमा आउने जानकारी दिएका हुन् । निर्देशनको जिम्मेवारी उनले छोरी कृति शर्मालाई सुम्पिँदै छन् । अहिलेसम्म चलचित्रका लागि कलाकारको टुङ्गो भने लागेको छैन ।
राजेश हमाल, करिश्मा मानन्धर, नीर, शाह, अशोक शर्माको प्रमुख भूमिका रहेको अल्लारेको दोस्रो भागमा अशोकले सङ्केत गरे अनुसार 'रातो टिका निधारमा' जोडी साम्राज्ञी र अंकितलाई मुख्य कलाकारको भूमिकामा देखिने सम्भावना भने रहेको छ ।