साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टिका निधारमा’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई लिएर निर्देशक अशोक शर्मा लगायत टिम निकै आशावादी रहेको छ । चलचित्र प्रदर्शनको पहिलो दिन बिहानी सो पत्रकारलाई देखाइएको थियो जसमा चलचित्र टिमले प्रशंसा पायो । चलचित्रले उठाएको कन्टेन्टलाई सञ्चारकर्मी लगायत उपस्थित पाहुनाहरूले रुचाए । चलचित्रले वैदेशिक रोजगारीको पछाडि नलागेर स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने कथा चलचित्रले उठाएको छ ।

चलचित्रमा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन्। ए .ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

प्रेस शोमा रुचाइयो अशोक शर्माको ‘रातो टिका निधारमा’

चलचित्र हेरिसकेपछीको अन्तर्क्रियामा साम्राज्ञी तथा अंकितले चलचित्र आफूले सोचेभन्दा राम्रो बनेको र दर्शक निराश भएर फर्किनु नपर्ने बताएका छन् । यसै गरी डेब्यु नायक अंकितले आफूले अझ राम्रो गर्न सक्ने ठाउँ चलचित्रमा भेटेको र आगामी चलचित्रमा त्यस्ता कमजोरी सुधार्ने बताएका छन् । यसै गरी निर्माता/निर्देशक अशोक शर्माले आफूले दर्शकसँग बसेर चलचित्र हेर्दा सन्देश प्रवाह गर्न खोजेको कुरा दर्शकले सजिलै लिन सकेको र यसमा आफू खुसी भएको बताएका छन् । उनी आफूले गर्न सक्ने मिहिनेत गरेको र बाँकी दर्शकको हातमा रहेको बताउँछन् ।