सार्वजनिक बिदा र चाडबाडमा चलचित्र रिलिज गर्ने हान थाप चलचित्र निर्माण पक्षहरू बिच हुनु नौलो कुरा होइन । दर्शकको चाप बढी हुने समयमा आफ्नो चलचित्र रिलिज गर्न पाउनु ठुलो कुरा हो त्यसैले होला केही निर्माता र निर्माण पक्षले चलचित्र निर्माण गर्नु पूर्व नै रिलिज मिति ओगटिसक्छन् । यो वर्षको दसैँ आउन नै अझै बाँकी छ, तर चलचित्र निर्मातालाई अर्को दसैँमा आफ्नो चलचित्र रिलिज गर्न पाउने नपाउने कुराले टाउको दुखाउन थालिसकेको छ । यसैबिच आउँदो वर्षको दसैँमा रिलिज गर्ने गरी निर्माता अशोक शर्माले ‘अल्लारे २’को प्रदर्शन मिति तय गरिसकेका छन् भने निर्माता भुवन केसीले पनि दि सुपर काजोल फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्र ‘एन्टी हिरो’ २०७७ सालको दसैँमा रिलिज हुने बताएका छन् ।

चलचित्रको कथा तयार नभएकाले चलचित्र निर्माण प्रक्रिया सुरु हुन केही महिना ढिलो हुने भएकाले चलचित्रका नायक अनमोल केसीले साम्तेन भुटिया निर्देशित चलचित्र ‘धुपौरे’मा काम गर्ने तयारी गरिरहेका छन् । अभिनेता निर्माता भुवनले अनमोलका शुभचिन्तकहरूले दसैँमा चलचित्र रिलिज गर्न सुझाव दिएकाले आफूले पनि त्यही मनस्थिति बनाएको बताएका छन् ।