फागुन ९ गतेलाई रिलिजको नयाँ मिति तोक्दै चलचित्र 'साङ्लो'को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्टको डेब्यू निर्देशन रहेको चलचित्रको पोस्टरमा विराज नै फिचर्ड छन् भने उनलाई एक्सन लुकमा देखाइएको छ । यस अघि छठको अवसर पारेर कार्तिक १५ गते रिलिज हुने घोषणा गरिएको चलचित्रको शनिवार नयाँ मिति सहित पोस्टर सार्वजनिक गरिएको हो । यसै चलचित्रबाट मिस नेपाल-२०१७ निकिता चण्डकले नेपाली रजतपटमा डेब्यू गर्दै छिन् । विराज तथा निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि अभिनय रहेको छ ।

‘साङ्लो’को पोस्टरमा विराजको एक्सन अवतार

केही वर्ष पहिले रोज राणाले निर्देशन गरेको चलचित्र ‘जय परशुराम’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा कमब्याक गरेका विराजले  निर्माण/ निर्देशन गरेको यस चलचित्रबाट निकै आशा राखेका छन् । चलचित्रले किड्नी तस्करीको कथा भन्ने छ । 'साङ्लो'ले फाइनल गरेको नयाँ मितिमा यसअघि नै अभिनेता दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘लप्पन छप्पन २’ आउने पक्का भैसकेको छ । अब फागुन ९ मा ‘साङ्लो’ र ‘लप्पन छप्पन २’को भिडन्त हुने छ । मानकृष्ण महर्जनको छायाङ्कन रहेको चलचित्रमा सुरेश अधिकारी र राजनराज सिवाकोटीको सङ्गीत रहेको चलचित्रमा शिवम् अधिकारीको कथा र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।