चर्चित गीत 'मन विनाको धन' ले बाल गायक अशोक दर्जीलाई सबैका सामु परिचित गरायो । यसै गीतले उनको नेपाली गीत सङ्गीत क्षेत्रमा उज्यालो भविष्य रहेको प्रमाणित गरिदियो । उनलाई सफलताको बाटोमा डोर्याउने गायक सङ्गीतकार टंक बुढाथोकीले गीत 'मन विनाको धन'को भाग २ लिएर आएका छन् । गीत शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकी र विक्रम थापाको स्वर रहेको छ । शङ्कर आचार्यको शब्द रहेको गीतमा गायक टंक बुढाथोकीकै सङ्गीत रहेको छ । यसै गरी भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।
अर्जुन जिसीको सम्पादन रहेको गीतको भिडियोमा गायक टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकी फिचर्ड छन् । गीतले बुवा आमा भनेका देउता सरह हुन् र उनीहरूलाई अपमान र हेला गर्दा पाप लाग्ने भाव बोकेको छ । गायक टंकले दर्शका श्रोताले अशोक र आफूलाई गरेको माया र अशोकको गीतको प्रतीक्षा व्यग्रताका साथ गरेकाले पनि आफूले सामाजिक सन्देश बोकेको गीत सार्वजनिक गरेको बताएका छन् । यसै गरी फेरी पनि समाजलाई समेट्ने र सन्देश बोकेको गीत आए आफू काम गर्न तयार भएको उनको भनाइ छ ।