राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा बोकेको चलचित्र ‘छ माया छपक्कै’ यही असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको छ । यो वर्षको बहु प्रतिक्षित चलचित्रले केही दिन यता प्रचारप्रसार सामाग्री सार्वजनिक गरिरहेको छ । यसैबिच चलचित्रका अभिनेता/पटकथाकार दिपकराज गिरीले गुनासो पोख्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस राखेका छन् । आफ्नो चलचित्रलाई तल झार्न विभिन्न समूहहरू लागी परेको भनी नकारात्मक प्रतिक्रियाको खण्डन गरिरहेका उनी यति बेला हलवालाहरुसँग असन्तुष्ट देखिन्छन् । उनले लेखेका छन्, 'छ माया छपक्कै को नाममा असोज २४ गते केही हलहरूले च्यारिटी सोहरू गर्न लागेको सुन्नमा आएकोले कृपया यस्ता सोहरू निर्माताको अनुमति बिना नगर्नु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ' ।

निर्माताको अनुमति बिना च्यारिटी सो नगर्न दीपकको अनुरोध

उनका अनुसार निर्मातालाई खबर नै नगरी चारिटिका नाममा सोहरू गरिनु गैर कानुनी हो र आफूलाई त्यस विषयमा कुनै खबर गरिएको छैन । दीपकको यस कुरामा धेरैले सहमति जनाएका छन् । आफ्नो सम्पत्ति माथि कसैले अनुमति बिना मनोमानी गर्न नपाउने उनीहरूको विचार छ । यसबारे अहिले सम्म हलका तर्फबाट कुनै आधिकारिक सूचना बाहिरिइसकेको छैन ।  दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलावा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा दीपाश्री निरौला निर्देशन सल्लाहकारको रूपमा रहेकी छन् ।