एक ताका निकै रुचाइएका चलचित्रका अनस्क्रीन रोमान्टिक जोडी राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि एकसाथ पर्दामा देखिएका छन् । ‘चट्ट बसम देउरालीमा’ बोलको गीतको म्युजिक भिडियोमा उनीहरूले रोमान्स गरेका छन् । मेलिना राई र भीम चापागाईँको आवाज रहेको छ गीतमा शब्द सङ्गीत दीपक शर्माको रहेको छ । त्यस्तै संयोजन नरेन्द्र वियोगीले गरेका हुन् । प्रेमको भाव बोकेको गीत एक समय निकै चर्चामा रहेको र कालजयी बनेको गीत 'मलाई पनि अङ्ग्रेजीमा बोल्न'सँग जोडिएको छ ।

हमालले गीतको सुरुवातमा आफूले पनि अङ्ग्रेजी सिकेको र 'आइ लभ यु' भन्न जानेको भन्दै करिश्मालाई जिस्काउँछन् । अधबैँसे उमेर र प्रेम को भाव बोकेको गीतको भिडियोमा राजेश र करिश्मालाई देवेन्द्र पाण्डेले नचाएका हुन् भने निर्देशन पनि उनैले गरेका हुन् । उत्सव दाहालको छायाङ्कन रहेको गीतलाई अच्युत बजगाईँले सम्पादन गरेका छन् ।