राष्ट्रिय नवदुर्गा सम्मानबाट नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्ददेखि अहिलेका चल्तीमा रहेका नौ अभिनेत्रीलाई सम्मान गरिएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरू भुवन चन्द तथा वसुन्धरा भुसाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइँटेल एवं स्वस्तिमा खड्कालाई सम्मान गरिएको हो । सोमबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नायिकाहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
विशिष्टलाई कदर तथा नयाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एकै मञ्चमा यी विभिन्न कालखण्डका अभिनेत्रीहरूलाई विभूषित गरिएको आयोजकले बताएका छन् । रेजिना फिल्मस् प्रा.ली. र सहिद फिल्मस् प्रा.ली.ले आयोजना गरेको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू रहेको थियो । कोरियोग्राफिर गजित विष्ट र गम्भीर विष्टले सँगै नृत्य गरेका थिए ।
यस्तै अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, पवित्रा आचार्य लगायतका कलाकारले प्रस्तुति दिएका थिए । कार्यक्रममा गायक आनन्द कार्कीले आफ्ना पुराना लोकप्रिय गीत गाएका थिए ।