दसैँ भन्ने बित्तिकै सानालाई होस् या ठुलालाई निकै खुसी बोकेर आउँछ । वर्ष दिन भरी दुख गरेर परिवारसँग टाढा रहेर जीवन यापन र सुन्दर भविष्यको लागी रगत पसिना बगाएर समय कटाउनु पर्ने अधिकांश नेपालीले केही दिन भए पनि फुर्सद पाउने समय । अलि अलि गर्दै जम्मा गरेको पैसा होस् या सुखले जोडेको सम्पत्ति । सबैले खुलेर खर्च गर्ने, मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने समय हो दसैँ । स्कुल कलेज जानेहरूको लामो छुट्टी, जागिर गर्नेको पनि केही दिनको फुर्सद अनि व्यापार व्यवसायबाट फुर्सद निकालेर परिवार र आफन्तसँग बिताउने समय सबैलाई अविस्मरणीय बनाऊँ भन्ने हुन्छ । त्यसैले त कोही सबै जना मिलेर घुम्न जान्छन् कोही चलचित्र हेर्छन् त कोही घरमै बसेर रमाइलो गर्छन् । नेपालीहरू पछिल्लो समय समयको सदुपयोग, मनोरञ्जन तथा सबैले एउटै अनुभव लिनको लागी चाडबाडहरूमा चलचित्र हेर्ने परम्परा बसाल्दै छन् । त्यसैले होला चाडबाडका छेको पारेर प्रदर्शन गरिएका चलचित्र हेर्ने दर्शकको भिड उल्लेख्य हुन्छ । अनि चलचित्र निर्मातामा पनि यही सुखद अवसर छोप्ने हान थाप हुन्छ । आफूले मेहनत गरेर कमाएको पैसा लगानी गरेर चलचित्र निर्माण गरेपछि त्यसले राम्रो दर्शक तानोस् र नाफा लिन सकियोस् भन्ने चाहना त सबैमा हुन्छ नै । त्यसैले दर्शक हलसम्म पुग्न सक्ने मौका पारेर चलचित्र प्रदर्शनमा ल्याउन ठुलो युद्ध जित्नु पर्ने हुन्छ ।

दसैँ सारा नेपालीको लागी जति विशेष हुने गर्छ उति नै नेपाली चलचित्रको लागी पनि विशेष हुन थालेको छ । दसैको अवसर पारेर प्रदर्शनमा आएका चलचित्रले आफ्नो लगानी त सहजै सुरक्षित गर्छन् नै निर्माताको खल्ती पनि भरिन्छ । विगतका दसैँको इतिहास हेर्ने हो भने चलचित्रले निकै राम्रो व्यापार गर्न सफल भएका थिए । नेपाली चलचित्रका लागी दर्शक केही हदसम्म सकारात्मक देखिन थालेका छन् यसर्थ पनि आफ्नो छुट्टीको समय परिवार र साथीभाइसँग चलचित्र हेर्न हल पुग्नेको सङ्ख्या बढ्दै गइरहेको छ । जुन नेपाली चलचित्रको व्यवसायको लागी निकै राम्रो कुरा हो । विगतका वर्षहरूमा नेपाली चलचित्रले दसैँको माहौल निकै उल्लास मय बनाउँथे जुन तुलनामा यस वर्षको दसैँ उल्लास मय देखिँदैन । घटस्थापनाको अघिल्लो हप्ता प्रदर्शनमा आएको चलचित्र 'कबड्डी कबड्डी कबड्डी'ले गत जेठदेखि सुस्ताएको चलचित्रको व्यापारलाई चलायमान बनाइदियो । दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिए । हल भरिभराउ देखियो । त्यस पछि घटस्थापनाको अवसर पारेर रिलिज गरिएको ‘रातो टिका निधारमा’ले दर्शकलाई सोचे जसरी हलमा तान्न सकिरहेको छैन । दसैँको माहौल तातिँदै छ, धमाधम फुर्सदको समय आउँदै छ तर यस वर्षको दसैँ सुख्खा हुने छाँट काँट छ । सायद यही वर्षको निराशाजनक दसैँ देखेर होला फिल्म निर्माताहरुले अर्को दसैँमा आफ्नो चलचित्र रिलिज गर्ने दाउ छोपिरहेका छन् ।

निर्माण भएका चलचित्रले मिति तोक्नु र ठाउँ ओगट्नु त सामान्य नै हो । तर निर्माण घोषणा पनि दसैँकै मिति ओगट्नका निम्ति हतार हतार गरिनु भने रोचक नै हुनसक्छ । हुन त आफूले सम्पत्ति खर्च गरेर निर्माण गर्ने फिल्म आफूले चाहेको मितिमा रिलिज गर्नु अधिकारको कुरा हो तर एक पछि अर्को चलचित्रले दसैँलाई नै टार्गेट गरेर मिति घोषणा गर्नुले स्वस्थ प्रतिस्पर्धाले जन्म लिन्छ भन्नेमा शङ्का गर्ने ठाउँ प्रशस्त भेटिन्छन् । चलचित्र ‘ए मेरो हजुर’ दर्शकले पत्याएको ब्रान्ड हो । जसका अघिल्ला तीन सिरिजले दर्शकको राम्रो साथ पाए । यसै चलचित्रको चौथो सिरिज अर्को दसैँमा आउने निर्माताले घोषणा गरिसकेका छन् । यसै गरी प्रदर्शनरत चलचित्र ‘रातो टिका निधारमा’का निर्देशक अशोक शर्माले आफूले दशक अगाडी निर्देशन गरेको सफल चलचित्र 'अल्लारे'को सिक्वेल निर्माण घोषणासँगै दसैँमा नै रिलिज गर्ने भन्दै घोषणा गरिसकेका छन् । यो वर्ष पनि दसैँको आस गरेका उनी आगामी दसैँको लागी पनि लोभिएका छन् ।  यही सूचीमा अर्को चलचित्रको नाम चढेको छ, त्यो हो निगम श्रेष्ठको ‘छड्के २’ । चलचित्रको निर्माण घोषणा सँगै दसैँलाई नै रिलिज मिति छानिएको छ । साथमा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले निर्माण गर्न लागेको चलचित्र ‘एन्टी हिरो’ पनि २०७७को दसैँको अवसर पारेर रिलिज गर्ने भुवनले बताएका छन् । अनमोल केसीको मुख्य भूमिका रहने चलचित्रको यति बेला कथा तयार हुँदै छ । भने अनमोल सामतेन भुटियाको 'धुपौरे'मा अनुबन्धित भैसकेका छ जसको कारण 'एन्टी हिरो' पछाडि धकेलिएको बुझिएको छ । यता केही वर्ष यता दसैँलाई नै लक्षित गरी चलचित्र ल्याइरहेका दीपक राज गिरी र दिपाश्री निरौलाको समूहले पनि दसैँकै लागि चलचित्र ल्याउने सम्भावना छ । जुन घोषणा भने भएको छैन । 

उल्लिखित चलचित्रलाई नै आधार मान्दा यसरी चलचित्र चल्नु नचल्नुमा मितिले फरक पार्ने हल मा दर्शकको चाप हुने समयमा रिलिज गर्दा लगाउनु सुरक्षित गर्न र नाफा कमाउन सहज हुने विश्वास निर्माण पक्षमा हुने बुझ्न सकिन्छ । चलचित्रको कथा, कलाकार, मेकिङ र अन्य प्राविधिक पक्ष भन्दा महत्त्वपूर्ण रिलिज मिति नै होकी भन्ने भान परेको हुनसक्छ । यो वर्ष बलिउड चलचित्रको क्यालेन्डर तल माथि पर्दा नेपाली चलचित्रले निकै ठुलो घाटा बेहोर्नु पर्‍यो । दसैँ होस् या अन्य अवसर ठुला ब्यानरका चलचित्रले नेपाली दर्शक तान्नेमा शङ्का नै छैन । आफूले रिलिज गर्ने चाहेको मितिमा प्रतीक्षित बलिउड फिल्म रिलिज हुँदा नेपाली मेकरहरुले निकै खुट्टा कमाउनु पर्‍यो । यति बेला नेपाली फिल्मकर्मीहरूलाई बलिउड निकै भारी परिरहेको छ जसले दर्शक भाँड्ने देखी वितरक भड्काउने, हलका सोज अतिक्रमण गर्ने सम्मका काम गरिरहेका छन् । जुन देखी नेपाली फिल्म मेकर रुष्ट बन्दै गइरहेका छन् । बलिउड चलचित्रको नेपाली बजारमा हाली मुहाली र दर्शकले तीनलाई गर्ने विश्वास हेर्दा लाग्छ नेपाली चलचित्रले दर्शकको मन जित्न नसकेकै हुन् । चाहे कथा मा होस् या कलाकार वा अन्य प्राविधिक कमजोरी नेपाली दर्शकले हेर्न चाहेको चलचित्र अझै कम मात्रामा निर्माण भएको कुरा यसैबाट प्रस्ट हुन्छ । नेपाली चलचित्रलाई दर्शकले माया गर्दैनन् भन्नु आफ्नो आङको भैँसी नदेख्नु जस्तो पनि हुन सक्छ । किनकि राम्रा कन्टेन्ट भएका चलचित्रलाई दसैँ कुरिरहनु पर्ने स्थिति पनि छैन । फिल्म मेकरले चलचित्रको रिलिज मितिलाई मात्र ध्यान दिने हो भने वर्ष भरी चलचित्र बनाएर दसैँ तिहार छठ लगायत लामा बिदा पर्ने अवसरमा मात्र चलचित्रको मेला आयोजना गर्दा फरक नपर्न सक्छ । दर्शकले पनि छानी छानी चलचित्र हेर्ने मौका पाउँथे ।