निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत चलचित्र 'घामड शेरे'को पहिलो गीत सार्वजनिक भएको छ । हेमराज बिसी निर्देशित चलचित्रको ‘साली मन पर्‍यो’ बोलको गीत मङ्गलवार सार्वजनिक गरिएकी हो । गीतमा कालीप्रसाद बास्कोटाको शब्द, सङ्गीत रहेको रोमान्टिक डान्सिङ नम्बरमा कालीप्रसाद र अस्मिता अधिकारीले आवाज दिएका छन् । चलचित्रमा मुख्य भूमिकामा रहेका निश्चल र स्वस्तिमा फिचर्ड गीतमा दुईको गजबको केमेस्ट्री देख्न पाइनेछ । गीतमा प्रदीप लामा (द नेक्स्ट)ले कोरियोग्राफी गरेका छन् । दसैँको शुभकामना स्वरूप सार्वजनिक गरिएको गीतले चलचित्रको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।  

निश्चल र स्वस्तिमाका अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयलगायतको अभिनय रहेको छ भने अभिनेत्री गौरी मल्ल अतिथि कलाकारको रूपमा देखिनेछिन् । चलचित्रमा निर्देशक बिसीले कै कथा पटकथा रहेको छ । नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको घामड शेरेलाई नरेन्द्र मैनालीले खिचेका हुन् । साथै चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, नरेन्द्र मैनालीको डिओपी र कालीप्रसाद बास्कोटाको सङ्गीत छ ।