राम्रो ब्यानरमा र दर्शकले रुचाएका कलाकारको अभिनय रहेको चलचित्रको माग विदेशमा निकै राम्रो रहेको छ । पछिल्लो समय वितरकले त्यस्ता चलचित्रको निर्माण पूर्व नै ठुलो रकम तिरेर विदेशी राइट्स खरिद गर्न थालेका छन् । केही दिन अगाडी भुवन केसीले निर्माण गर्ने चलचित्र 'एन्टी हिरो'  फ्लोरमा जानु अघि नै बिक्री भयो यसै गरी अभिनेता विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ को अस्ट्रेलिया राइट्स निकै महँगो मूल्यमा बिक्री भएको छ । विदेशमा उच्च माग रहेको यो फिल्मको अस्ट्रेलियामा ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले २५ लाखमा प्रदर्शन अधिकार खरिद गरेको हो । चलचित्र यति बेला फ्लोरमै छ । चलचित्रका निर्माता सुभाष थापाका अनुसार युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हंङकंङ, मलेसियालगायतका देशबाट पनि चलचित्रको प्रदर्शन राइट्स् खरिदको लागि थुप्रै प्रस्तावहरू आइरहेका छन् । जसमध्ये अधिकांश देशमा ‘प्रसाद’का वितरकहरू नै हुन् । केही दिनमा अन्य देशका वितरकसँग ‘सेल्फी किङ’ को प्रदर्शनको लागि सम्झौता हुने उनले बताएका छन् । ।  

ड्रामा र कमेडी जनरामा बन्ने चलचित्रमा एक चर्चित हास्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनबिचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा बोकेको छ । 'सेल्फी किङ'मा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ । साथमा अभिनेत्री केकी अधिकारी अतिथि भूमिकामा देखिनेछिन् । निर्देशक विशालकै कथा रहेको चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत, बि .पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन तथा उदय पौडेलको सङ्गीत संयोजन, निर्मल लामाको कोरियोग्राफी रहेको छ