कार्तिक ८ गते रिलिज हुने चलचित्र ‘घामड शेरे’को पहिलो गीत ‘साली मन पर्‍यो’ सार्वजनिक गरिएको छ । पहिलो पल्ट ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्काले चलचित्रमा काम गरेको यस चलचित्रको गीतमा पनि उनीहरू दुई नै फिचर्ड छन् । युवापुस्तालाई मन पर्ने लभ स्टोरी कथामा चलचित्र बनाउन सिपालु मानिने हेमराज बिसी निर्देशन गरेको चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ । तर सार्वजनिक गीतमा उनीहरूलाई साली र भेनाको रूपमा देखाएको छ । गीतमा भेना निश्चलले साली मन पर्‍यो भन्दै स्वस्तिमालाई सम्बोधन गरेका छन् भने स्वस्तिमाले पनि निश्चललाई भेना भनेकी छिन् ।

रोमान्टिक डान्सिङ फ्लेवरको गीतमा दुईले कम्मर मर्काएका छन् जसमा निश्चलको श्रीमती अर्थात् स्वस्तिमाको दिदीको भूमिकामा सुष्मा निरौला देखिएकी छिन् । चलचित्रको गीतले एक किसिमको अन्योल सृजना गरिदिएको छ । निर्माण पक्षले सुरुदेखि नै स्वस्तिमा र निश्चललाई श्रीमान् श्रीमतीको भूमिकामा देखिने भनेको छ तर गीतले अर्कै सङ्केत गरेको छ । चलचित्र प्रति कौतुहलता बढाउन गीतले निकै भूमिका खेल्ने देखिन्छ । दुई जनाबिचको सम्बन्धको फन्को कतातिर मोडिन्छ भन्ने उत्सुकता गीत रिलिज भएसँगै उब्जिएको छ ।