दसैँ सबै नेपालीको घर दैलोमा नै आइसकेको छ । सबैले आफ्नो जीवन शैली अनुसार र आफ्नो गच्छे अनुसार दसैँ मनाउन थालिसकेका छन् । यसै गरी नेपाली फिल्म इन्डस्ट्रीका कलाकारहरूको घरमा पनि दसैँ भित्रिसकेको छ । दसैँको शुभकामना दिने र आफू पनि परिवारसँग दसैँ मनाउन कलाकारहरूले सुरु गरिसकेका छन् । यसैबिच नेपाली चलचित्र क्षेत्रकी भर्सटाइल अभिनेत्रीको रूपमा दर्शकले माया गर्ने वर्षा सिवाकोटी पनि आफ्नो परिवारसँग दसैँ मनाउँदै छिन् । अभिनेत्री वर्षा पहिलो पटक आफ्नी आमासँग मिडियामा आएकी छिन् । दसैँको माहोलमा रमाइरहेका बेला उनले पहिलो पल्ट आफूले साथी जस्तै मान्ने आमासँग आफ्नो दसैँ अनुभव र तयारी साटेकी छिन् । वर्षाको सानो उमेरको दसैँ सम्झना गर्दै उनकी आमाले वर्षा सानैदेखि निकै चुजी नेचरको भएको र लुगा लगाउने मामलामा झन् धेरै सजक रहेको बताइन् । सानैदेखि रेडिमेड र राम्रा लुगा मन पराउने वर्षा अलि अन्तरमुखी स्वभावको रहेको र नाच गान गर्ने र भगवान् अगाडी बसेर आफूलाई हिरोइन बनाइदिनु भन्ने आशीर्वाद माग्ने गरेको जस्ता रमाइलो स्मरण गरिन् । अफर आएको पहिलो चलचित्रमा नै सहजै काम गर्न दिएको र चलचित्र हेरेपछि आफ्नी छोरीले यतिसम्म काम गर्न सक्ने देखेर खुसी भएको उनी बताउँछिन् । वर्षाले पनि आफ्नो बालापन र दसैँकोको किनमेल सम्झिँदै  सम्झिँदै आफू लुगाको लागी निकै जिद्दी भएको बताइन् । यसै विषयमा अविस्मरणीय क्षण सम्झिँदै एक पटक आफूलाई मन पर्ने लुगा हराएको र हराएपछि आफू रोइकराई गरेर फेरी उही लुगा किनेर ल्याए पछि मात्र खुसी भएको सम्झिन् ।

यसै गरी दसैँ भन्ने बित्तिकैकै दक्षिणाको कुरा आउँछ र विगतका कुरा सम्झिँदै जुन घरमा दक्षिणा बढी आउँछ त्यो घरमा हरेक वर्ष नछुटाई जाने गरेको र आफूले पाएको पैसा निकै जोगाउने गरेको स्मरण साटिन् । यसै गरी वर्षा कामको लागी चाडबाडमा घर बाहिर हुँदा निकै खल्लो लागेता पनि आफूले गरेको कामलाई छोड्न नमिल्ने र आफूले पाएको जिम्मेवारी बहन गर्नु पर्ने  भएकाले सम्झौता गर्ने गरेको वर्षाकी आमा सुनाउँछिन् । यसै विषयमा वर्षा पनि सबैले आफ्नो परिवारसँग बसेर रमाइलो गरिरहँदा आफूले पनि परिवार निकै मिस गर्ने तर एउटाले गर्दा पुरै टिमलाई असर गर्ने हुनाले कम्पर्माइज गर्ने बताउँछिन् । वर्षालाई दसैँ भन्ने बित्तिकैकै सानो हुँदा स्कुल छुट्टी भएपछि गर्ने सपिङ अनि गाउँ जाँदा हुने रमाइलो निकै विशेष लाग्ने र सम्झिने बताउँछिन् । साथमा यो वर्षको दसैँको प्लान सुनाउँदै आफ्ना उमेर समूहका रमाइलो गर्ने घरमा कोही नभए पनि पारिवारिक भेटघाटमा रमाउने बताउँछिन् । अन्तमा वर्षाको विवाहको कुरामा उनकी आमा अब छिट्टै नै विवाहको तयारीमा रहेको बताउँछिन् ।