तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणाको निर्देशनमा बनेको चलचित्रको तर्फबाट दसैँको शुभकामनासहित बुधवार सार्वजनिक गरिएको ट्रेलर कमेडी र कन्फ्यूजन युक्त छ । ट्रेलरमा सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठलगायतलाई ठाउँ दिइएको छ । जसमा कलाकारको क्यारेक्टर स्थापना गरिएको छ । चलचित्रले कालो वर्णको एक युवकको जीवनमा घट्ने घटनालाई देखाउन खोजिएको ट्रेलरले स्पष्ट पार्छ । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई दीपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्रमा लालबहादुर खाती र अर्जुन पोखरेलको सङ्गीत छ भने चलचित्रलाई निर्देशक राणाले नै लेखेका हुन् ।