हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ ले नेपाली टेलिसिरियललाई निकै राम्रो उचाइमा पुर्यायो । लामो समय अघि प्रसारण भएको यस टेलिसिरियलका प्रसङ्ग र कलाकारको अभिनय आज पनि अधिकांश नेपालीको मनमा बसेको छ । यसै हास्य टेलिसिरियलको नाममा चलचित्र निर्माण हुने भएको छ । यसै सिरियलबाट निकै चर्चा कमाएका कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले चलचित्र निर्देशन गर्न लागेका छन् । बिदेसिएका परिवारका सदस्यको कथामा निर्माण हुने चलचित्र पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने छ । सिरियल ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया नै चलचित्रको मुख्य भूमिकामा देखिनेछन् भने साथमा चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुँइकेल, अनुष्का अधिकारी समेतको अभिनय रहनेछ ।
सोमबार चलचित्रको निर्माण घोषणा गर्दै चलचित्रमा सन्तोष पन्त र साकार पन्तको कथा, सन्दीप किस्नाको लेखन, रवि सायमीको छायाङ्कन, हक्र्युलिस बस्नेतको गीत तथा सङ्गीत रहने र चलचित्र कात्तिकको तेस्रो हप्ताबाट चलचित्रको छायाङ्कन सुरु हुने समेत बताइएको छ ।