‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको यस अवार्ड यस अघि का तीन संस्करण पनि अमेरिका नै आयोजना भएको थियो । आइतबार अवार्डको घोषणा गर्दै नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म आयोजना हुने जानकारी दिइयो । नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्म कर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताएका छन् ।

नेपाली चलचित्र कर्मीलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रवर्धन, पुरस्कार र प्रोत्साहनका साथै फिल्म टुरिजमको विषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’ को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्ड लक्षका साथ अवार्ड आयोजना गर्न लागिएको अध्यक्ष मल्लले थपे । कार्यक्रममा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन् भने डिसेम्बर १ मा ‘भिजिट नेपाल २०२०’ लाई प्रचार गर्ने उद्देश्यले कलाकारसहितको सहभागितामा बर्कली सिटीको मुख्य सडक बन्द गरेर ‘नेपाल डे परेड’ मनाइने फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताएका छन् ।