पछिल्लो समय एकाएक चर्चामा आएका गायक हुन दुर्गेश थापा । तीज गीत 'बीच्च बीच्चमा' बाट लोकप्रियता कमाएका उनले यसै गीत को प्यारोडी गीत चलचित्र 'छ माया छपक्कै'मा पनि गाएका थिए जसबाट उनलाई सकारात्मक साथै नकारात्मक प्रतिक्रिया पनि मिल्यो । यसै बिच दुर्गेशले हालै ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत युट्युबमा सार्वजनिक गरेका छन् । गीतमा प्रयोग भएका शब्द प्रति असन्तुष्टि व्यक्त भइरहेका बेला थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको छ । प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ । गीतले तिहार र देउसीको भावनामा ठेस पुर्याएको भन्दै उजुरी परेको थियो । यसै उजुरीका आधारमा दुर्गेशलाई प्रहरीले सोधपुछको लागी बोलाइएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।