चलचित्र ‘पोइ पर्यो काले’ प्रदर्शनको सँघारमा छ । शिशिर राणाको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा र आकाश श्रेष्ठको जोडी बाँधिएको छ । अहिले सम्म लभ स्टोरीमा मात्र देखिएको पूजाको यो पहिलो कमेडी फिल्म हो । साथै उनले सुदर्शन थापाको ब्यानर भन्दा बाहिर काम गरेको पहिलो चलचित्र समेत हो । चलचित्र ‘प्रेमगीत’बाट एकाएक चर्चामा आएकी पूजा हिट चलचित्र दिने नायिकामा पर्छिन् । उनको पछिल्लो चलचित्र 'रामकहानी' ले पनि दर्शकको माया पायो । पछिल्लो समय पूजासँग जोडिएर आउने नाम हो नायक आकाश श्रेष्ठ । यो जोडिले तीन चलचित्रमा एकसाथ काम गरिसकेको छ । र उनीहरूको जोडी दर्शकले निकै रुचाएका पनि छन् । त्यसैले त यी दुईको जोडी बाँधिएको हेर्ने रहर दर्शकलाई छ । बजारमा यी दुईको प्रेम सम्बन्धको बारेमा पनि चर्चा चलिरहन्छ तर उनीहरू यो कुरा स्विकार्दैनन् । आफूहरू निकै मिल्ने साथी भएको र आफूहरूको केमेस्ट्री दर्शकले मन पराउनु एक किसिमको सफलता नै भएको उनीहरूको जिकिर छ ।
पूजा र आकाशको पहिलो कमेडी जनराको चलचित्र भएकाले काम गर्दा चुनौती भोग्नु परेको र दर्शकलाई अपेक्षा अनुसार काम देखाउन सकिने नसकिनेमा निकै डर भएको उनीहरू बताउँछन् । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रले मानिसको बाहिरी आवरण भन्दा पनि मन सफा हुन् जरुरी छ भने सन्देश प्रवाह गर्छ । चलचित्रमा छुच्ची र घमन्डी स्वभावको युवतीको भूमिका निभाएकी पूजालाई दर्शकले आफ्नू भूमिका मन नपर्ने हो कि भन्ने डर रहेको छ । पहिलो हाफसम्म को क्यारेक्टर नेगेटिभ भएको र चलचित्रको निर्माण सुरु भएदेखि नै आफूलाई एक प्रकारको डर लागिरहेको उनको भनाइ छ । आफूलाई कथावस्तु मन परेको र हरेक मान्छेले भोग्ने यथार्थमा आधारित फिल्मले दर्शकको मन छुनेमा आफू ढुक्क रहेको बताउँछिन् । कार्तिक ८ गते बाट प्रदर्शनमा आउने चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय रहेको छ । किरण नेपाली प्रस्तुत कर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । चलचित्रको गीत तथा ट्रेलर लगायत प्रचार प्रसार सामाग्री सार्वजनिक भैसकेका छन् जसलाई दर्शकले मन पराइरहेका छन् ।