गैर आवसिय नेपालीहरूको सङ्गठन ‘एनआरएनए’का नव निर्वाचित पदाधिकारीहरूलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ । केही दिन अघि कुमार पन्तको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिका विजयी पदाधिकारीहरूको उपस्थिति रहेको सम्मान कार्यक्रमका प्रमुख अतिथि संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई र श्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका श्वेता खड्काले संयुक्त रूपमा विजयीलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा श्वेताश्री फाउन्डेसनले निर्माण गरिरहेको नमुना माझी बस्तीको बारेमा तयार पारिएको भिडियो समेत प्रस्तुत गरिएको थियो ।

नमुना बस्तीको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको र सम्पन्न गर्न अझै केही रकम आवश्यक परेका कारण उपस्थित पाहुना तथा केही प्रवासी नेपालीहरूले बस्ती निर्माणको लागि सहयोग गरेका थिए भने कसैले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै श्वेताले नव–निर्वाचित एनआरएनएका पदाधिकारीलाई बधाईसँगै आफूलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुका साथै उनीहरूकै सहयोगले आफूले आटेको काम पुरा गर्न सकेको मा आभार प्रकट गरिन् । साथमा मन्त्री भट्टराईले पनि सरकारी तवरबाट कुनै पनि सहयोग चाहिए आफू सहयोग गर्न तयार भएको प्रतिबद्धता जाहेर गरे ।