सामान्यभन्दा मोटा युवतीहरूलाई लक्षित गर्दै 'सुपर प्लस साइज मोडल नेपाल' आयोजना हुने भएको छ । यसअघि दुई संस्करण संस्करण सम्पन्न भैसकेको यस प्रतियोगिताको तेस्रो संस्करण पनि छिट्टै आयोजना हुने भएको छ। मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतिमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ हुन लागेको हो भने प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवतीमहिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कात्तिक ३० गते अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले बताएका छन् । अडिसनबाट छनौटमा परेका प्रतिस्पर्धी लाई एक महिना नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
मोटोपनाका कारण हीनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको ओमानियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्रा बताउँछिन् । प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ड टप प्लस साइज, २०२०’ मा सहभागिता जनाउन पाउनेछन् । साथै उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुने जानकारी पनि आयोजक संस्थाले दिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरूको निम्ति अडिसन फाराम वितरण कार्य मोडल सङ्ग्स नेपालको कार्यालयबाट कात्तिक ५ गतेबाट वितरण सुरु गरिएको छ ।