यो हप्ताबाट प्रदर्शनमा आउने चलचित्र 'पोइ पर्यो काले' ले प्रदर्शनको सँघारमा दर्शकलाई हलसम्म तान्न प्रचार प्रसार लगायत कामलाई तीव्रता दिइरहेको छ । यसैबिच चलचित्र निर्माण पक्षले बुधवार राजधानीमा भेटघाट र अन्तर्क्रिया कार्यक्रम राखेको थियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ लगायत कलाकार र निर्माण पक्षको उपस्थिति रहेको थियो । पहिलोपल्ट फरक भूमिका निभाएको र कमेडी फिल्ममा काम गरेकी अभिनेत्री पूजाले चलचित्र निकै राम्रो बनेको र पूर्वाग्रह नराखी हल सम्म पुगेर चलचित्र हेरेर साथ दिन दर्शकलाई अनुरोध गरिन्। मिडियासँगको कुराकानीमा पूजाले जसरी हिन्दी फिल्मलाई विश्वास गरेर चलचित्र हेर्न हल पुगिन्छ उस्तै गरी नेपाली फिल्मलाई पनि विश्वास गर्ने हो भने दुख गरेर प्रोड्युसरले गरेको लगानी बालुवामा नमिसिने र कलाकारले गरेको मेहनतको पनि अस्तित्व रहने आशय व्यक्त गरिन् । यसै गरी चलचित्रका निर्देशक शिशिर राणा र कलाकार राजारामले माहौललाई रमाइलो बनाउँदै पूजा र आकाशलाई जिस्काउँदै छोरा बुहारी भनी जिस्काए । यसै क्रममा अभिनेता आकाशले हरेक चलचित्र चल्नु पर्ने र आफ्नो चलचित्र पनि चल्नेमा विश्वास रहेको बताएका छन् ।
कुराकानीमा सौगात र सृष्टिको प्रेम सम्झिँदै राजारामले सुटिङको समयमा खाना खाने देखी अन्य बेलामा दुईले एक अर्कालाई गर्ने ख्याल र माया निकै रमाइलो लाग्ने सुनाए । यसै गरी निर्देशक राणाले हाँस्दै केटाको गुण पूजामा भएको र केटीको जस्तो गुण आकाशमा भएकाले आफूले पूजालाई छोरा र आकाशलाई बुहारी भनेर जिस्काउने गरेको सुनाए । कुराकानीको क्रममा राणाले पूजा, आकाश र सृष्टि सौगात बिचको सम्बन्ध र सस्पेन्स हेर्नको लागी र कलाकारको राम्रो काम हेर्नुका साथै पूर्ण रूपमा मनोरञ्जन लिन चलचित्र हेर्न दर्शक हलसम्म आउनु पर्ने बताउँछन् । यसै गरी आकाश पनि आफ्नो बिलकुल फरक भूमिका रहेको चलचित्र हेरेपछि दर्शकले कुनै ठाउँमा पनि निराश हुनु नपर्ने र पूर्ण रूपमा मनोरञ्जन लिनु का साथै चलचित्रबाट दर्शकले राम्रो सन्देश लिन सक्ने विश्वास गर्छन् । चलचित्रमा पूजा र आकाशसँगै सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, सृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय छ । किरण नेपाली प्रस्तुत कर्ता रहेको चलचित्रमा राजीव गुरुङ र सरोज नेपालीको लगानी छ । अमला देवी राई चलचित्र कार्यकारी निर्माता हुन् । चलचित्रलाई निर्देशक शिशिर राणाले नै लेखेका हुन् । 'पोइ पर्यो काले' मा लालबहादुर खाती र अर्जुन पोखरेलको सङ्गीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।