निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र 'घामड शेरे'ले प्रदर्शनको सँघारमा आएर प्रदर्शन मिति दुई हप्ता पर सारेको छ । कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र अब कार्तिक २२ बाट प्रदर्शन हुने भएको छ । चलचित्रलाई चलचित्रको ठुलो व्यापार गर्ने चेन क्युफएक्सले राम्रो सोज नदिँदा तोकिएको समयमा चलचित्र प्रदर्शन गर्न नसकिएको निर्माण पक्षले बताएको छ । चलचित्र प्रदर्शनका नाममा राजनीति भएको र चलचित्रमाथि अन्याय गरेकोले यस्तो कदम उठाउनु परेको चलचित्रका मुख्य अभिनेता निश्चल बस्नेतले आफ्नो सामाजिक सञ्जालमा साझेदारी गरेको स्ट्याटसले बताउँछ । केही हलवालाको लापरबाही र असमान व्यवहार रहेकोले अन्तिम समयमा आएर यस्तो निर्णय गर्न बाध्य भएको बुझिएको छ । हेमराज बिसी निर्देशित चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । निर्देशक बिसीकै कथा, पटकथा रहेको चलचित्रलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्मित चलचित्रमा कालीप्रसाद बास्कोटाको सङ्गीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।