कात्तिक २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर नेपाली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । देव भुसालको निर्देशनमा तयार भएको चलचित्रमा भुवनले दोहोरो भूमिका निभाएका छन् । जसमा उनी एक पाको उमेरका गाउँका राजनीतिक व्यक्तिको भूमिका निभाएका छन् भने अर्को वयस्क आफ्नो ठाउँलाई सम्मान र माया गर्ने नेपालीको भूमिका निभाएका छन् । कमेडी युक्त सार्वजनिक ट्रेलरमा चलचित्रका प्राय सबै कलाकारलाई स्थान दिइएको छ । बिदेसिएको युवाको देखावटी पन तथा विशुद्ध नेपाली पन चलचित्रमा समेटेको छ । ट्रेलरमा डेब्यु कलाकार साहिल श्रेष्ठ केन्द्रमा रहेका छन् जसको वरिपरि फिल्म घुम्ने अनुमान लगाउन सकिन्छ ।
देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको छायाङ्कन नवलपरासी र काठमाडौँमा गरिएको हो । चलचित्रमा भुवन केसीका अलावा रीमा विश्वकर्मा, विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, रवि डंगोलको साथमा डेव्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । भुसालकै लेखन तथा पटकथा रहेको चलचित्रमा निरज कँडेलले छायाङ्कनको पाटो सम्हालेका छन् ।