हिमालय टेलिभिजनमा प्रसारणमा भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ उल्लासय तवरले प्रसारण भइरहेको छ । सोमा ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरूको ब्याटल राउन्ड सकिएको छ । अब प्रतिस्पर्धीहरूको नकआउट राउन्ड सुरु भएको छ । ब्याटल राउन्डबाट छानिएका ३६ जना प्रतिभाहरूले अब नकआउट राउन्डको प्रतिस्पर्धामा भिड्नेछन् । ब्याटल राउन्डमा हरेक कोचले ८ जना  प्रतिस्पर्धीलाई छनौट गरेका छन् भने एक एक जना प्रतिभालाई अर्को टिमबाट स्टिल गरेर आफ्नो टिममा समेटेका छन् । अब चारै जना कोचको टिममा ९/९ जना प्रतिभाहरू छन् । उनीहरूले नकआउट राउन्डमा कडा प्रतिस्पर्धाको सामना गरी लाइभ राउन्डमा प्रवेश गर्नेछन् ।

नकआउटबाट हरेक कोचको टिममा ३/३ जना प्रतिभाहरू लाइभ राउन्डमा पुग्नेछन् । नकआउट राउन्डको पहिलो एपिसोड यही शुक्रवार साँझ ८ बजे प्रसारण हुने छ ।हालसम्म कोचको निर्णयका आधारमा अगाडी बढेको प्रतिभाहरूलाई लाइभ राउन्डसँगै जनमतको पनि साथ रहनेछ । अर्थात् लाइभ राउन्डका हरेक प्रस्तुतिमा दर्शकले एसएमएस र अनलाइन भोटिङमार्फत आफूले मन परेको प्रतिभालाई मत दिन सक्नेछन् । दर्शकको भोट र कोचको रायका आधारमा उत्कृष्ट चार जना प्रतिभा ग्राण्ड फिनालेका लागि पुग्नेछन् । मन पर्ने प्रतिभालाई भोट गर्न देश तथा विदेशमा रहेका दर्शकहरूले प्रभु पे को एप डाउनलोड गरी भोट दिन सक्नेछन् ।