बिपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को छायाङ्कन सकिएको छ । दसैँ अघि र पछि दुई सेड्युलमा ३३ दिनमा चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको हो । ‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा बोकेको चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका छन् । चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन ।
चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत, बि । पाण्डेको शब्द, अन्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको सङ्गीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, विनोद पोखरेलको स्टिल फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।