शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्यो काले' आज शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आएको छ । उसो त हत्तपत्त नेपाली चलचित्रले सोलो रिलिजको अवसर पाउँदैनन् तर कमै चलचित्रलाई जुर्ने यो अवसर 'पोइ पर्यो काले'लाई जुरेको छ । नेपाली अन्य कुनै चलचित्रसँग भिड्नु नपरे पनि यस चलचित्रले बलिउडका दुई चलचित्रसँग भने जुध्नु पर्ने भएको छ । बलिउड फिल्म 'हाउसफुल ४' र 'मेड इन चाइना' प्रदर्शनमा आएका छन् । नेपाली हलवालाले नेपाली चलचित्रलाई सोज दिन अलि कन्जुस्याईँ नै गर्छन् तसर्थ दर्शकलाई राम्रो सँग हलमा तान्न 'पोइ पर्यो काले'ले राम्रो वर्ड अफ माउथ कमाउनु पर्ने देखिन्छ ।
बुधवारसम्म अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘घामड शेरे’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, अक्षय कुमार स्टारर फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्सहरुमा अत्यन्त न्यून सोज पाएपछि फिल्म दुई हप्ता पर सर्यो । योसँगै ‘पोइ पर्यो काले’ लाई दर्शक र हल बाँडिने चिन्ता केही हदसम्म कम भएको छ । चलचित्रलाई मल्टिप्लेक्स मा सोचे अनुसारको सोज दिइएको छैन । दर्शक र समीक्षकबाट प्रशंसा मिलेमा दोस्रो दिनबाट चलचित्रले राम्रो गति लिन सक्ने अनुमान भने लगाउन सकिन्छ । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय रहेको छ । किरण नेपाली प्रस्तुत कर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ ।