पछिल्ला केही दिन यता मिडिया हब र टेलिसिरियल भद्रगोलबाट छुट्टिएर शृङ्खला सक्किगोनी निर्माण गरेका पाँडे र जिग्रीको टिम बिचको विवादले हलचल मच्चाएको थियो । अब भने नेपाल टेलिभिजनबाट प्रदर्शन हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम र ‘मिडिया हब’ बिचको विवाद टुगिंएको छ । आगामी दिनमा दुवै पक्षले विवादित कुरालाई नउठाउने सहमतिमा विवाद टुगिंएको हो । आफूले जन्माएकाले त्यो आफ्नो सम्पत्ति भएको भन्दै मिडिया हबले पात्र चोरीको उजुरी प्रहरीकोमा गरेकाे थियाे । तर, दुई पक्ष जारी विवाद टुंग्याउन सहमत भएका छन् । सक्किगोनिका कलाकार कुमार कट्टेलले मिडिया हब प्रा ।लि र ‘सक्किगोनी’ हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समझदारीमा टुङ्ग्याइएको बताए । दुई पक्षबीच कसरी समझदारी बन्यो भन्नेबारे केही नखुलाए पनि आगामी दिनमा दुवै पक्षले यसमा विवाद नगर्ने सहमति बनेको उनको भनाइ छ ।

कुमार कट्टेल (जिग्री)ले झगडा टुगिंएको जानकारी दिँदै फेसबुकमा स्टाटस लेखेका छन्, ‘पछिल्लो समय मिडिया हब प्रा .लि र ‘सक्किगोनी’ हास्य टेलिसिरियल बिच उत्पन्न विवाद दुवै पक्ष बसी आपसी सम्झदारी मा टुङ्गोमा पुर्‍याइएको छ । हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ यहाँहरूले नियमित रूपमा हेर्न पाउनुहुनेछ ।' कलाकार र सर्जकको मिडिया हब प्रा ।लिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने उनले उल्लेख गरेका छन् ।