साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’को ट्रेलर रिलिज भएको छ । काग तिहारको अवसरमा निर्माण टिमले कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावको कथा बोकेको चलचित्रमा आर्यन सिग्देल, भोलराज सापकोटा, मीरुना मगर र माओत्से गुरुङ लगायत कलाकारको मुख्य भूमिका रहेको छ भने दुई बेकामे युवकको भूमिका आर्यन र भोलाराज देखिन्छन् । जीवनको पिङमा ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रले छर्लङ्ग पार्ने निर्देशक तथा सम्पादक साम्तेन भुटियाले बताए ।

लभर व्वायको भूमिकामा सफलता हात पारेका आर्यन पहिलो पटक कमेडी भूमिकामा देखा परेका छन् । जीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमृत घोले लामा हुन् । भने चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । 'च च हुई'मा सुशन प्रजापतिको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी र राजनराज सिवाकोटी/ रोशन थापाको सङ्गीत रहेको छ । चलचित्र आगामी मङ्सिर ६ बाट प्रदर्शनमा आउनेछ ।