शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्यो काले' गत शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आएको थियो । तिहारको अवसर पारेर रिलिज गरिएको चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको छ । चलचित्रले दोस्रो हप्तामा प्रवेश गर्दै गर्दा भाइटिकाको भोलिपल्ट बुधवार हलमा दर्शकको सङ्ख्या उल्लेख्य रूपमा थियो । मल्टीस्टारर चलचित्र 'पोइ पर्यो काले' ले ६ दिनमा फिल्मले राजधानीमा मात्रै एक १ करोड ९५ लाख (रातीको सो नजोडी) व्यापार गरेको काठमाडौँ वितरक करण क्रेजी श्रेष्ठले दाबी गरेका छन् । यसै गरी चलचित्रका लेखक तथा निर्देशक शिशिर राणाले पनि चलचित्रलाई दर्शकले मन पराएको र राम्रो उपस्थिति रहेको बताएका छन् । चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा र आकाश श्रेष्ठको जोडी बाँधिएको छ ।
अहिलेसम्म लभ स्टोरीमा मात्र देखिएको पूजाको यो पहिलो कमेडी फिल्म हो । साथै उनले सुदर्शन थापाको ब्यानर भन्दा बाहिर काम गरेको पहिलो चलचित्र समेत हो । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठका साथमा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय रहेको छ । किरण नेपाली प्रस्तुत कर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ ।