आगामी कात्तिक २९ लाई प्रदर्शन मिति तोकिएको चलचित्र 'सरौतो' दुई साता पछाडि सरेको छ । कात्तिक २९ मा पनि अन्य धेरै फिल्म हुने भएकाले चलचित्र मङ्सिर १३ प्रदर्शनमा आउने भएको हो । यस अघि चलचित्र कात्तिक २२ बाट प्रदर्शन हुने भनिएको थियो । सुमी मोक्तानको प्रमुख भूमिका रहेको चलचित्र निश्चलको ‘घामड शेरे’ कात्तिक २२ मा सरेपछि पहिलो पटक मिति हेरफेर दर्दै प्रदर्शनका लागि कात्तिक २९ रोजेको थियो । पुनः २९ मा ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ आउने र दर्शक भाँडिने कारण दोस्रो पटक पनि पछि हट्नु परेको हो । 'सरौतो' निर्देशक हरि हुमागाईंले एकै मितिमा धेरै चलचित्र प्रदर्शन हुन लागेका कारण आफू दुई हप्ता पछाडि सरेको जानकारी दिएका छन् ।
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रलाई रिभेन्ज स्टोरी भनिएको छ। चलचित्रमा सुमी मोक्तान, लियो ट्याङ्क, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय , मनोज तामाङ लगायतको अभिनय रहेको छ। चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, शङ्कर महर्जनको एक्सन रहनेछ। फिल्मका गीतहरूमा राजन राज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको सङ्गीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङको स्वर दिएका छन्।