नेपालमा प्रदर्शनको तेस्रो सातामा आइपुग्दा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको चलचित्र 'छ माया छपक्कै' नोभेम्बरको पहिलो सातादेखि अमेरिकाभर प्रदर्शन हुने भएको छ। अमेरिकामा रहेका नेपाली चलचित्रका पारखीहरूलाई खुसीको खबर दिँदै अमेरिकामा फिल्म वितरणको जिम्मा लिएका वितरकले जानकारी दिएका हुन् । सुरेश दर्पण पोखरेल सहित भरत बराइली, प्याट्रिक सुवेदी र डीजे मोमोको टिमले अमेरिकामा फिल्म वितरणको जिम्मा लिएका छन् । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका सुरेश दर्पणसहितको टिमलाई सम्पर्क गरेर आफू बस्दै आएको राज्यमा फिल्म प्रदर्शनको जिम्मा लिन सकिने बताइएको छ। हालसम्ममा अमेरिकाका थुप्रै राज्यमा फिल्म प्रदर्शनका लागि तय भइसकेको वितरण टिमले जानकारी दिएको छ।

चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् भने दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ । चलचित्रको कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन्। ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र 'आईएमई'को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता रोहित अधिकारी हुन्। 'छ माया छपक्कै'लाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन्।