मुकुन्द भट्ट निर्देशित चलचित्र 'लप्पन छप्पन २' बाट अभिनेता दयाहाङ राई बाहिरिएका छन् । आगामी शिवरात्रीलाई रिलिज मिति तोकिएको चलचित्र बाट दयाहाङ बाहिरिएसँगै अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ अनुबन्धित भएका छन् । शक्ति यसै चलचित्रबाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गर्दै छन् । चलचित्रको निर्माण कार्य अन्तिममा पुग्दा दयाहाङले किन हात झिके त्यो बारे निर्माण पक्षले केही खुलाएको छैन । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको भनिएको चलचित्रमा दयाहाङको भूमिकामा शक्तिलाई कसरी स्थापित गरिनेछ त्यो भने केही समयमा थाहा पाइनेछ । चलचित्रको अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् ।

चलचित्रको पहिलो पार्टले उति राम्रो व्यापार गर्न सफल भएको थिएन यद्यपि चलचित्रको सिक्वेलबाट दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ ।चलचित्रमा सौगात,शक्ति र अर्पणसँगै  अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार, शिव श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ भने चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।