यस वर्षको दीपावलीको अवसरमा प्रदर्शनमा आएको मल्टीस्टारर चलचित्र ‘पोइ पर्‍यो काले’ ले सानदार व्यापार गरेको वितरकहरूले बताएका छन् । प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दै गर्दा चलचित्र हेर्ने दर्शकको हलमा राम्रो उपस्थिति देखिन्छ । वितरकका अनुसार, फिल्मले एक हप्तामा देशभर गरी ३ करोड ५ लाख छापिसकेको छ । भने चलचित्र दोस्रो हप्तामा प्रवेश गर्दै गर्दा दर्शकको उत्साहजनक प्रतिक्रियाले चलचित्र लामो रेसको घोडा बन्ने आस गर्न सकिन्छ । शनिवार चलचित्रकी मुख्य नायिका पूजा शर्मा राजधानीको गुण सिनेमामा दर्शकको प्रतिक्रिया लिन पुगेकी थिइन् । चलचित्र हेरेका दर्शकले चलचित्रको कथा बस्तु र समग्रमा चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । साथमा कलाकारको कामको पनि प्रशंसा गरेका छन् । चलचित्रका वितरकले चलचित्रको पहिलो हप्ताको शुक्रवार भन्दा दोस्रो हप्ताको शुक्रवार दर्शकको चाप केही हदसम्म धेरै भएको बताएका छन् । मल्टीप्लेक्समा ‘हाउसफुल ४’ दबदबा कायम रहँदा र त्यसमाथी  पनि चलचित्र ‘छ माया छपक्कै’ को दर्शकको चाप कम भैनसक्दा 'पोइ पर्‍यो काले'लाई चुनौती नै थियो ।

यद्यपि दर्शकले चलचित्र मन पराएका छन् । दर्शकको प्रतिक्रिया लिन पुगेकी पूजा दर्शकको प्रतिक्रियाले भावुक बनेकी छिन् । उनी भन्छिन्, 'आज सम्म कुनै पनि दर्शकले चलचित्रको बारेमा नराम्रो प्रतिक्रिया दिनुभएको छैन सायद चलचित्र राम्रो भएर नै होला' । शिशिर राणाको निर्देशनमा बनेको चलचित्र मा सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा र आकाश श्रेष्ठको जोडी बाँधिएको छ । अहिलेसम्म लभ स्टोरीमा मात्र देखिएको पूजाको यो पहिलो कमेडी फिल्म हो । साथै उनले सुदर्शन थापाको ब्यानर भन्दा बाहिर काम गरेको पहिलो चलचित्र समेत हो । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठका साथमा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय रहेको छ । किरण नेपाली प्रस्तुत कर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ ।