कतिपय नेपाली कलाकारको लागी बलिउड निकै ठुलो सपना हुने गर्छ । बलिउडमा आफूलाई स्थापित गर्न नेपाली फिल्म इन्डस्ट्री छोडेर भारतमा सङ्घर्ष गरिरहेका कलाकारहरू भेट्न सकिन्छ । यस्तै नाम मध्य को एक हो अदिती बुढाथोकी । चलचित्र 'कृ' बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी उनी त्यसयता नेपाली फिल्ममा देखिएकी छैनन् । उनी बलिउडमा आफूलाई स्थापित गराउन लामो समयदेखि भारतको मुम्बईमा बसेर मोडलिङ गर्दै आइरहेकी छिन् । यिनै अदितिले आफ्नो प्रेम सम्बन्धको बारेमा सार्वजनिक गरेकी छिन् । उनी भारतीय र्‍यापर अलिम मोरानीको प्रेममा रमाइरहेको कुरा उनकै सामाजिक सञ्जालबाट स्पष्ट हुन्छ । शनिवार उनले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै अलिमसँग बिताएको सुन्दर समय भनी क्याप्सन राखेकी छिन् । तस्बिरमा प्रेमीसँग अदिती रोमान्टिक मुडमा देखिएकी छन् । इन्स्टाग्राममा तस्बिरकै कारण चर्चामा आउने अदितीलाई बधाई दिने तथा जोडी सुहाएको भन्दै धेरैले प्रतिक्रिया दिएका छन् । अलिमले गत वर्ष ‘लेट मि लाइभ’ नामक पहिलो र्‍याप गीत सार्वजनिक गरेका जुन निकै चर्चित बनेको थियो ।